तपाईँ सुन्दै हुनुहुन्छः

सौम्य शक्तिको परिचालन, बजेटको नयाँ कार्यक्रम

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा अगाडि सारिएको नयाँ कार्यक्रम हो– सौम्य शक्तिको परिचालन । नेपालको कला संस्कृति, नेपालको प्राकृतिक सम्पदा तथा शान्तिवादी छविलाई विश्व समुदायलाई जानकारी दिलाउने र त्यसलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ उक्त कार्यक्रम अगाडि सारिएको हो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित भएर सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समृद्धिका लागि सौम्य शक्ति परिचालन गरिने उल्लेख गर्नुभएको छ ।

नेपालको हकमा हिमालय पर्वत, सगरमाथा, बुद्धको जन्मस्थल, सांस्कृतिक विविधता, योग, ध्यान र कला, पर्यटन, पदयात्रा, नेपाली आतिथ्य र शान्तिप्रिय छवि नै खास अर्थमा सौम्य शक्तिको रूपमा लिइन्छ ।

आकर्षण, संस्कृति, विचार र विश्वासमार्फत विश्व समुदायमा छाप छर्ने र त्यसलाई नै समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले पहिलोपटक बजेटमा उक्त विषयलाई समेटेको जनाएको छ ।

आर्थिक कूटनीतिक, सांस्कृतिक, पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्ने लक्ष्य बजेटले राखेको छ ।

संयुक्त राष्ट्र सङ्घलगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउने, क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीतिक अगाडि बढाउने बजेटमा उल्लेख गरिएको छ ।

संविधानले सुनिश्चित गरेको ‘गैरआवासीय नेपाली नागरिकता’ सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई मूर्त रूप दिने लक्ष्य बजेटले राखेको छ । गैरआवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने उद्देश्य राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button