तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः मन्त्री तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका अवसरमा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दाबी गर्नुभयो ।

उहाँले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोण समेत स्पष्ट रूपमा समेटिएको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । 

नयाँ सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै उहाँले विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । 

जिल्लाका विभिन्न समस्या समाधानका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गर्नुभयो । प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भ्रष्टाचार र बिचौलिया तन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको स्पष्ट पार्दै यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताउनुभयो । 

सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै उहाँले विगतमा शासन व्यवस्था सीमित स्वार्थ समूहको प्रभावमा पर्दा युवाहरूमा असन्तुष्टि र विद्रोहको भावना बढेको धारणा राख्नुभयो । नागरिकलाई केन्द्रमा राख्ने शासन प्रणाली प्रभावकारी रूपमा स्थापित हुन नसक्दा जनतामा निराशा बढेको र त्यसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गराएको उहाँको भनाइ थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button