तपाईँ सुन्दै हुनुहुन्छः

वस्ति छिरेका वन्यजन्तुलाई प्राकृतिक वासस्थान फर्काइए

दोलखा । लकडाउनको अवधिमा वन्यजन्तुहरू ग्रामीण बस्ती र बजारहरूमा आउन थालेपछि गौरीशङ्कर संरक्षण क्षेत्रले त्यस्ता वन्यजन्तुको उद्धार गरी प्राकृतिक वासस्थानमै छोड्न थालेको छ ।

डिभिजन वन कार्यालय चरिकोटले बच्चा अवस्थामै उद्धार गरी गौरीशङ्कर संरक्षण क्षेत्रलाई बुझाएको रतुवा मृगलाई संरक्षण क्षेत्रले सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडेको संरक्षण प्रमुख सत्यनारायण शाहले बताउनुभयो ।

उक्त रतुवा मृगलाई दोलखाको उत्तरी सिंगटी बजारदेखि पाँच किलोमिटर टाढा दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा रहेको गिद्धे सल्लेरी संरक्षण बनमा लगेर छोडिएको प्रमुख शाहले बताउनुभयो ।

उक्त रतुवा मृगलाई संरक्षण वन उपभोक्ता सञ्जालको अध्यक्ष रामचन्द्र खड्का, कालिञ्चोक सब डिभिजन वन कार्यालय सिंगटीका प्रतिनिधि यादव आचार्य, इलाका प्रहरी कार्यालय सिंगटीका प्रतिनिधि र गौरीशङ्कर संरक्षण क्षेत्रका प्रतिनिधिको रोहबरमा प्राकृतिक वासस्थानमा लगेर छोडिएको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

रतुवा मृगलाई प्राकृतिक वासस्थानमा छोडेपछि सोही दिन बेलुका र भोलिपल्ट त्यसको अवस्थाको बारेमा अनुगमन गरिएको आयोजनाले जनाएको छ ।

अनुगमनको क्रममा रतुवा मृगले पानी, घाँस आदि खाएको र दिसा समेत गरेको पाइएको आयोजनाका शङ्कर थामीले बताउनुभयो । मृगलाई प्राकृतिक वासस्थानमा छोड्दा बाँच्ने अवस्था देखिएको थामीको भनाई छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रले यस अघि पनि लक डाउनकै अवधिमा मृग, घोरल, कालिज आदि वन्यजन्तुलाई विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूको प्राकृतिक वासस्थानमै छोडेको र केही बच्चा बन्य जन्तुलाई अहिले पनि संरक्षण क्षेत्रमै सुरक्षित ढङ्गले राखिएको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

संरक्षण क्षेत्रमा रहेका ती वन्यजन्तुहरूलाई पनि ठुलो भएपछि उनीहरूको प्राकृतिक वासस्थानमै लगेर छोडिने शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button