गर्मीमा माटोको भाँडोको माग बढ्यो, कुम्हाल समुदाय भने माटो अभावले संकटमा
बाँके । गर्मी बढेसँगै माटोको भाँडामा राखिएको पानी पिउने चलन तीव्र रूपमा बढ्दै गएको छ । फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण धेरै मानिस प्राकृतिक रूपमा पानी चिस्याउने परम्परागत भाँडोतर्फ आकर्षित भएका हुन् ।
विशेषगरी गर्मी मौसममा माटोको भाँडोमा राखिएको पानी स्वाभाविक रूपमा चिसो हुने, स्वादिलो लाग्ने र शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने भएकाले यसको प्रयोग शहरदेखि गाउँसम्म विस्तार हुँदै गएको स्थानीय उपभोक्ताहरू बताउँछन् ।
तर माटोको भाँडोको माग बढिरहेका बेला परम्परागत रूपमा भाँडा बनाउने कुम्हाल समुदाय भने कच्चा पदार्थकै अभावमा समस्यामा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले कानुन बनेपछि मात्र माटो उपलब्ध गराउने बताउँदै आएको छ भने प्रमुख जिल्ला अधिकारीले मोहर्रम पर्वपछि मात्र माटोको व्यवस्था गरिने जानकारी दिएको कुम्हाल समुदायको गुनासो छ ।
नेपालगञ्जमा बसोबास गर्ने करिब १७० कुम्हाल परिवारमध्ये झण्डै १५० परिवार माटोका भाँडा बनाउने पेशामा निर्भर छन् । तर हाल माटो नपाउँदा उनीहरूको उत्पादन ठप्प भएको छ ।
कुम्हाल समुदायका रमेश कुम्हालले माटो अभावका कारण परम्परागत पेशा नै संकटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई माटो नै छैन । उपमहानगरपालिकाले कानुन बनेपछि मात्र माटो दिने भन्छ, प्रशासनले मोहर्रमपछि मात्र भन्ने गर्छ । हाम्रो पेशा नै संकटमा परेको छ ।”
उहाँका अनुसार दुई ट्राली माटोले एक वर्षसम्म परिवारको जीविकोपार्जन चल्थ्यो । तर अहिले माटो नपाउँदा भाँडा बनाउन नसकिएको र परिवार पाल्नसमेत कठिन भएको उहाँको भनाइ छ ।
गर्मीमा माटोको भाँडोको प्रयोग बढ्नु स्वास्थ्यका दृष्टिले सकारात्मक मानिए पनि कच्चा पदार्थको अभावले उत्पादन र आपूर्तिमा असर परेको छ । सरोकारवालाहरूले समयमै समाधान नखोजिए परम्परागत कुम्हाल पेशा नै लोप हुने खतरा रहेको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्