त्याग र भाइचाराको सन्देश दिँदै बाँकेसहित देशभर मनाइयो बकर इद
बाँके । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज बाँकेसहित देशभरका मस्जिद तथा इदगाहहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ । आस्था, त्याग, बलिदान र भाइचाराको सन्देश बोकेको यो पर्व मुस्लिम समुदायले धार्मिक श्रद्धा र उल्लासका साथ मनाएका हुन् ।
इस्लाम धर्मअनुसार रमजान अर्थात् इदुल फित्र पर्वको करिब ७० दिनपछि मनाइने बकर इद इस्लामिक पात्रोको १२औँ महिना ‘जिलहिज्जा’को १०औँ दिन पर्दछ । फैजाने मदिनाका धर्मगुरु मुफ्ती फजल हकका अनुसार यो पर्व अल्लाहप्रतिको समर्पण, त्याग र बलिदानको प्रतीकका रूपमा मनाइन्छ ।

आज बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाजमा सहभागी भएका थिए । नमाजपछि एकअर्कासँग अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
नेपालगन्जको बीपी चोकस्थित इदगाह, एक्लैनीको फुलबारी मस्जिद, फुल्टेक्रास्थित फैजाने मदिना मस्जिदलगायत बाँकेका विभिन्न मस्जिद तथा इदगाहमा हजारौँ मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक नमाज अदा गरेका छन् ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बकर इदको शुभकामना व्यक्त गर्दै हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेशअनुसार हजरत इब्राहिम आफ्ना प्रिय छोरा इस्माएल अलैहिस्सलामलाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइने गरिएको बताउनुभयो ।

“अल्लाहले इब्राहिमलाई सबैभन्दा प्रिय वस्तु कुर्बानी गर्न आदेश दिनुभएको थियो । उहाँ आफ्ना छोरा इस्माएललाई बलिदान दिन तयार हुँदा अल्लाह प्रसन्न भई त्यसको सट्टा भेडा कुर्बानी गर्न आदेश दिनुभयो । त्यही घटनाबाट यो पर्वको सुरुवात भएको हो,” अध्यक्ष खाँले भन्नुभयो ।
आजदेखि तीन दिनसम्म मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
धर्मगुरु मुफ्ती फजल हकका अनुसार बकर इदको ऐतिहासिक परम्परालाई पैगम्बर मोहम्मद सलल्लाहु अलैहि वसल्लमले थप विस्तार र निरन्तरता दिनुभएको हो । उहाँ सन् ५७१ मा मक्कामा जन्मिनुभएको र पछि मदिनामा बसाइँ सर्नुभएको स्मरणमा आज पनि साउदी अरबका मक्का र मदिना मुस्लिम समुदायका प्रमुख धार्मिक तीर्थस्थलका रूपमा परिचित छन् ।

उहाँले इस्लाम धर्मसम्बन्धी हदिस ग्रन्थको अध्ययन अहिले पनि मदरसाहरूमा गराइने जानकारी दिँदै बकर इदका अवसरमा मक्का–मदिना पुगेर धार्मिक यात्रा गर्नु मुस्लिम समुदायमा शुभ मानिने परम्परा रहेको बताउनुभयो ।
धार्मिक अगुवाहरूका अनुसार बकर इदले त्याग, मानवता, सहिष्णुता तथा आपसी सद्भावको सन्देश दिने भएकाले यसको सामाजिक महत्व पनि उत्तिकै गहिरो रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्