तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप : बेलबारी क्लब सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी १८ औँ संस्करणको सहिद भीमनारायण गोल्डकप अन्तरगत बुधबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब विजयी भएको छ । 

धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको चौथो तथा पहिलो चरणको अन्तिम खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलको ८० औँ मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

खेलको म्यान अफ द म्याच विजेता टिम बेलबारीका गोलकर्ता बाबा टुण्डे घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस अघि सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै र विर्तामोड युनाइटेड क्लब झापा गाईघाट फुटबल क्लब उदयपुरलाई हराउँदै तथा भारतको जर्जियन फुटबल क्लबलाई हराउँदै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । 

प्रतियोगिता अन्तरगत बिहीबार पहिलो सेमिफाइनल खेल सिराहाको सलहेश फुटबल क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान तथा शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब र मोरङको बेलबारी फुटबल क्लबबिच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । जेठ १६ गते फाइनल खेल हुने छ । 

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button