तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज बिहान १९ जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा,पर्सा र रौतहटका तीन सय ५७ जनाको स्वाब परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगन्जका मेिीकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

पिसीआर परीक्षणको क्रममा पर्सा जगरनाथपुरस्थित सन्ठि क्वारेन्टाईनमा रहेका एक महिलासहित आठ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाईनमा रहेका सात जना र रौतहटको गढीमाई क्वारेन्टाईनमा रहेका चार जना गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

संक्रमित १९ जना सबै भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका व्यक्तिहरू भएको र उनीहरूलाई सिधै क्वारेन्टाईनमा राखिएको जनाइएको छ ।

सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको उपाध्यायले बताउनुभयो ।

वीरगन्जमा थप सङ्क्रमित देखिएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको र अलौको आईसीपी भन्सार हुँदै वीरगन्ज प्रवेश गर्न लागेका सयौँ मालवाहक ट्रकलाई अलौमा रोकिएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

लकडाउन खुकुलो बनाएर बजार खोल्दा थप चुनौती देखिएपछि पुनः बजार बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले गरेको समेत पन्तले जानकारी दिनुभयो ।

दैनिक आपूर्तिका सामानहरू, खाद्यान्न, तरकारी, फलफूल बिक्री वितरण व्यवस्थित गरिएको र बैङ्क तथा वित्तीय संस्थाको सेवा सुचारु भएको समेत पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button