राप्ती नदीमा ५ सय मिटर झोलुङ्गे पुल निर्माण हुने
बाँके । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका–७ लाई जोड्ने राप्ती नदीमा बहुप्रतिक्षित झोलुङ्गे पुल निर्माण हुने भएको छ । वर्षौंदेखि डुंगामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीका लागि यो योजनाले राहत दिने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–७ अन्तर्गत फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका बस्ती र डुडुवा गाउँपालिका–१ का बालुपुरुवा, चौफेरी लगायत क्षेत्रलाई जोड्ने गरी करिब १५ करोड रुपैयाँ लागतमा ५ सय मिटर लामो मल्टी स्पान सस्पेन्सन झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
पुल अभावमा स्थानीयले लामो समयदेखि राप्ती नदी डुंगाबाट तर्दै आएका थिए । वर्षायाममा नदी उर्लँदा आवतजावत झनै जोखिमपूर्ण बन्ने गरेको थियो । कतिपय अवस्थामा नदी तर्ने क्रममा ज्यानसमेत गुमाउनुपरेको स्थानीयको अनुभव छ ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको पहलमा पुल निर्माण प्रक्रिया अघि बढेको जनाइएको छ । पुलका लागि आवश्यक प्राविधिक सर्वेक्षण सम्पन्न भइसकेको छ । ललितपुरस्थित सस्पेन्सन पुल विभागबाट इन्जिनियर कैलाश मोक्तान नेतृत्वको प्राविधिक टोलीले विस्तृत सर्वेक्षण गरेको हो ।
सर्वेक्षण सम्पन्न भएसँगै स्थानीयमा पुल निर्माणप्रति उत्साह बढेको छ । स्थानीयवासीका अनुसार पुल बनेपछि दुई पालिकाबीच आवागमन सहज हुने, विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई उपचार लिन, तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीयले वर्षौंदेखिको जोखिमपूर्ण डुंगा यात्रा अन्त्य हुने भन्दै पुल निर्माणलाई क्षेत्रको विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्