भीमनारायण गोल्डकप : आयोजक सेमिफाइनलमा
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप अन्तरगत मङ्गलवार भएको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान विजयी भएको छ ।

मङ्गलवार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको १६ औँ मिनेटमा जर्जियन फुटबल क्लबका कुञ्जमान थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३४ औँ मिनेटमा आयोजकका प्रतिस थापा मगरले गोल गर्दै खेल १–१ को अवस्था पुर्याए । खेलको ५६ औँ मिनेटमा आयोजकका विपिन जबेगुले गोल गर्दै गोल अन्तर २–१ को अवस्था पुर्याएका थिए ।
खेलको ९० मिनेटमा जर्जियनका प्रवेश रोयले मुख्य रेफ्रि मनिष अधिकारीलाई हात हालेका कारण रातो कार्ड पाएर बाहिरिएपछि जर्जियन १० खेलाडीमा सीमित भएको थियो ।
खेलको म्यान अफ द म्याच विजेता टिम आयोजकका विशाल भण्डारी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुर बीच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ ।
यस अघि सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै र विर्तामोड युनाइटेड क्लब झापाले गाईघाट फुटबल क्लब उदयपुरलाई हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छन् ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ ।
विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्