तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा हुने भएको छ ।
आगामी साउन २४ देखि २७ गतेसम्म हुने सम्मेलनमा फोनिजमा आबद्ध जातीय पत्रकार सङ्गठनहरू तामाङ पत्रकार सङ्घ, किरात राई पत्रकार सङ्घ, तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, थारु पत्रकार सङ्घ नेपाल, मगर पत्रकार सङ्घ, लिम्बू पत्रकार सङ्घ र शेर्पा सञ्चार समूह सहआयोजक रहने आज जानकारी दिइएको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२२–२०३२ लाई आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेका सन्दर्भमा, विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजका अध्यक्ष लक्की चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनको अन्त्यमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवद्र्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चारमाध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेसागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटेर ‘काठमाडौँ घोषणापत्र’ जारी गरिनेछ ।
फोनिजका महासचिव बलामीका अनुसार सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
सम्मेलनबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेसागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ ।
साथै आदिवासी समुदायको जल, जमिन, जङ्गल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव तथा जलवायु न्यायमा सञ्चारमाध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् ।
सम्मेलनमा विज्ञहरूसहित २७ देशका करिब ६० जना अन्तर्राष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि तथा नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० जना प्रतिनिधि, जातीय पत्रकार सङ्गठनहरूबाट करिब १०० जना सहित ५०० जनाभन्दा बढी मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । फोनिजले सदस्यता विस्तार र पत्रकारहरूलाई प्रोत्साहनका लागि मधेस र लुम्बिनी प्रदेशमा फेलोसिप (शोधवृत्ति)कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्