विकास निर्माणका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या समाधान गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र अत्यधिक मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले आज सिंहदरबारमा जलस्रोत तथा सिँचाइमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालाहरूसँगको छलफलपछि विकास निर्माणका लागि सार्वजनिक खरिद कानुन परिमार्जन गरी चालु अधिवेशनमै संशोधन विधेयक संसदमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सङ्कटमा परेका सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभयो ।
समितिले मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भन्दै यसको तत्काल निकास खोज्न पूर्वाधार मन्त्रालयलाई सचेत समेत गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्