मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान

वीरगंज । मधेश विश्वविद्यालयको केन्द्रीय तथा प्रशासनिक भवन निर्माणका लागि वीरगंज महानगरपालिकाले करोडौँ मूल्यको ४ बिगाहा ५ कठ्ठा जग्गा विश्वविद्यालयलाई प्रदान गरेको छ ।
वीरगंज महानगरपालिकाको बोर्ड बैठकको निर्णयअनुसार वडा नम्बर २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा विश्वविद्यालयलाई प्रदान गरिएको हो ।
हालसम्म भाडाको भवनबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको विश्वविद्यालयले अब आफ्नै स्वामित्वको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने आधार प्राप्त गरेको छ । जग्गा उपलब्ध भएसँगै विश्वविद्यालयको दीर्घकालीन भौतिक पूर्वाधार विकासको बाटो खुलेको विश्वविद्यालयका उप कुलपति डाक्टर दिपक शाक्यले बताउनुभयो ।
महानगरपालिकाले शैक्षिक क्षेत्रको विकास तथा वीरगञ्जलाई उच्च शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त निर्णय गरिएको जनाएको छ ।
यसैबीच, विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका वीरगञ्ज महानगरपालिकाका कार्यपालिका बोर्डका सम्पूर्ण सदस्यहरूलाई स्थानीय सरोकारवाला, शिक्षा प्रेमी र सर्वसाधारणले धन्यवाद ज्ञापन गरेका छन् ।
महानगरपालिकाको यस कदमले मधेश प्रदेशकै गौरवका रूपमा रहेको विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्