पञ्चकन्या रुपन्देही सुपर लिग: नेपथ्य तिलोत्तमासँग पराजित हुँदा बुद्ध ‘बी’ डिभिजनमा घटुवा
रुपन्देही । रुपन्देहीको भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’मा लिग चरणका खेलहरू सकिएका छन् । लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा पराजित हुँदै बुद्ध क्रिकेट क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । बुधबार नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले बुद्धलाई १ सय १० रनले पराजित गर्दै जित निकालेको छ । हारसँगै बुद्ध रेलिगेसनमा परेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर २ सय १७ रन बनायो । उसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र रोशन घिमिरेले ११ रनको योगदान गरे । बलिङमा बुद्धका दिलसाद अली र अमित अग्रहरीले ३–३ तथा हरिकेश मुराउले २ र गौतम केसीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुद्धले २१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले ४, सन्दीप यादव र आशुतोष पाण्डेले समान २–२ तथा प्रतीक भट्टराई र रोशन घिमिरेले १–१ विकेट लिए । बुद्धका अजय त्रिपाठीले ३६, प्रवेज अन्सारीले २०, हरिकेश मुराउले १२ र अमित अग्रहरीले १० रन बनाए । खेलमा लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, वेस्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिङ्क र स्थानीय व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्