तपाईँ सुन्दै हुनुहुन्छः

काँक्रा बेचेरै पारिवारिक गुजारा

दोलखा । जेठ–असारको हरेक बिहान दोलखा सदरमुकाम चरिकोटमा काँक्रा बेच्दै गरेको भेटिने नरबहादुर कार्की कृषि व्यवसायबाट सन्तुष्ट देखिन्छन् । दोलखाको तामाकोसी गाउँपालिका–१ भीरकोट घर भएका नरबहादुर यो मौसममा दैनिक जसो चरिकोटमा काँक्रा बेच्न आउने गर्छन् ।

झण्डै दुई रोपनी जग्गामा काँक्रा लगाएको बताउने नरबहादुर जेठदेखि असारसम्मै चरिकोट ल्याएर काँक्रा बिक्री गर्दै आएको बताउँछन् । ‘काँक्रा बिक्री गरेर राम्रै आम्दानी गरेको छु’ नरबहादुर ले भने– ‘काँक्राबाट मात्र वार्षिक झण्डै साढे दुई लाख आम्दानी हुन्छ ।’

विगत सात वर्षदेखि काँक्रा लगायतका कृषि उत्पादन गर्दै आएका नरबहादुर सबैभन्दा धेरै आम्दानी काँक्रा बिक्रीबाटै हुने गरेको बताउँछन् । उनले चरिकोट ल्याएर प्रति केजी एक सय २० देखि एक सय ५० रुपैयाँसम्ममा काँक्रा बिक्री गर्दै आएको सुनाए । काँक्राको सिजनमा नरबहादुर प्रायः चरिकोटमै बस्ने गर्छन् । गाउँबाट छोराबुहारीले उत्पादन भएका काँक्रा बसमा राखेर पठाएपछि नरबहादुर त्यसलाई चरिकोटको मुख्य चोक सातदोबाटोमा राखेर बिक्री गर्छन् । 

‘काँक्रा राम्रो भएकोले दुई– तीन बोरा काँक्रा चोकमा ल्याएको केही समयमै बिक्री भई सक्छ’ नरबहादुरले भने । तामाकोसी बजारका व्यवसायीहरू घरमै काँक्रा किन्न पुग्ने गरे पनि राम्रो दाम नआउने भएकोले आफूले हरेक बर्ष सदरमुकाम चरिकोटमै ल्याएर बिक्री गर्दै आएको नरबहादुरको भनाई छ । 

नरबहादुरले काँक्राको अलवा धान, तरकारी तथा विभिन्न फलफूल समेत उत्पादन गर्छन् । मेहेनत गर्ने हो भने कृषि पेशाबाट राम्रो आम्दानी हुने उनको भनाई छ । कृषि पेशाबाटै आफूले नातिनातिनालाई सदरमुकाम चरिकोटमै राखेर पढाइरहेको नरबहादुरले बताए । 

कृषि व्यवसायलाई प्रवर्द्धन गर्दै युवाहरूलाई रोजगार बनाउन सरकारले उत्पादित कृषि सामग्रीको बजार व्यवस्थापन र आवश्यक प्राविधिक परामर्शको प्रबन्ध गरिदिनुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button