प्रधामन्त्री शाह उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरूद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध गर्नुभएको छ ।

बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएपछि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गर्नुभएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहको राजीनामा समेत माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनुभयो ।
विपक्षी दलका सांसदहरूले उठेर विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई धारणा राख्न समय दिनुभयो ।
त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव प्रस्तुत गर्न दिन सकिने बताउनुभयो ।
नेता केसीले प्रस्ताव प्रस्तुत गर्न दिने तर जवाफमा प्रधानमन्त्री शाह उपस्थित नभए त्यसलाई राम्रो मान्न नसकिने धारणा राख्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफलका लागि सकारको प्रमुखले नै प्रस्ताव प्रस्तुत गर्ने, सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो ।
सांसद ऐन बहादुर महरले संविधानभन्दा संसदको नियमावली ठूलो नभएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्न नसकेको जिकिर गर्नुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तापक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा मन्त्रीलाई तोक्न सक्ने जिकिर गर्दै सदनको कारबाही सुचारु गर्न आग्रह गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै पाँच वर्षको कार्यकाल भरी नियमावलीको धारा ३८ देखाएर प्रधानमन्त्रीको आवज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो ।
उहाँले नियमावलीको धारा ३८ जटिल अवस्थामा प्रधानमन्त्री विदेश हुँदा बिरामी हुँदा असहज परिस्थिति हुँदा अरू काम कारबाही नरोकियोस् भनेर गरिएको व्यवस्था भएको र त्यसैलाई आधार बनाएर प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनुपर्ने भनेर संविधानले व्यवस्था गरेको कुराको खिल्ली उडाइरहेको बताउनुभयो ।
सांसद गुरु बरालले बहुमत प्राप्त राजनीतिक दलले प्रतिपक्षी दलले उठाएका विषयमा अन्देखा गरेर असहज अवस्था ल्याउने दिशातर्फ उन्मुख भइरहेको बताउनुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जारी राखेपछि नेपाली काँग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले छलफल यसरी नै अगाडी बढ्न नसक्ने भन्दै १०÷१५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरी अगाडी बढ्न आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगीत गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
यसअघि, सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मङ्गलवार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहो¥याएपछि सभामुखले रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्