राष्ट्रिय सञ्चार सम्मेलनको १५ बुँदे घोषणापत्र जारी
रुपन्देही । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र सञ्चार क्षेत्रको संरक्षणका पक्षमा विभिन्न माग राख्दै ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले बैशाख २६ देखि २८ गतेसम्म बुटवलमा आयोजना गरेको सम्मेलनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवद्र्धन र पालना गर्न महासङ्घ प्रतिबद्ध रहेको जनाएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक सुनिश्चितता तथा सञ्चार गृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन कानुनी व्यवस्था गर्न माग गरिएको छ ।
सम्मेलनले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै सीमित गर्ने सरकारको हालैको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । यस्तो नीति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको ठहर गर्दै निजी तथा सामुदायिक सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने र सयौँ पत्रकार तथा सञ्चारकर्मीको रोजगारी सङ्कटमा पर्ने उल्लेख गरिएको छ ।त्यस्तै, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न सम्मेलनले आग्रह गरेको छ ।
प्रदेश र स्थानीय तहले सञ्चार सम्बन्धी आवश्यक कानुन निर्माणमा चासो नदिएको उल्लेख गर्दै सम्मेलनले सङ्घीयताको मर्मअनुसार सञ्चारसम्बन्धी कानुन निर्माण गर्न माग गरेको छ । साथै त्यस्ता कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्नेमा जोड दिइएको छ ।
सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाले सञ्चार क्षेत्र र समाज प्रभावित बनेको भन्दै सम्मेलनले त्यस्ता प्लेटफर्मलाई निरुत्साहित गरी व्यावसायिक सञ्चार माध्यमलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।
घोषणापत्रमा पत्रकारका लागि सञ्चार उपकरण खरिदमा सहुलियतको व्यवस्था गर्न प्रदेश तथा स्थानीय सरकारसँग माग गरिएको छ भने जिम्मेवार र आचारसंहिताप्रति संवेदनशील पत्रकारिता गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आह्वान गरिएको छ ।
सम्मेलनले लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तथा स्वीकृत सञ्चारसम्बन्धी कार्यक्रम, योजना र बजेट तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ । पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि बुटवलमा सञ्चार सङ्ग्रहालय स्थापना गर्न नेपाल पत्रकार महासङ्घ रुपन्देहीले पहल गर्ने घोषणा समेत गरिएको छ ।
त्यसैगरी, भूमिहीन तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न र प्रभावितलाई वैकल्पिक व्यवस्था गर्न सम्मेलनले सरकारसँग माग गरेको छ । रुपन्देहीको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माण, लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान र सिद्धबाबा मन्दिर लगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकारसँग सम्मेलनले आग्रह गरेको छ ।
सम्मेलनको घोषणापत्र उपसमितिका संयोजक पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल र सदस्यहरूमा प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईं, भरत केसी, विनोद परियार, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्