तपाईँ सुन्दै हुनुहुन्छः

ईशनाथ–औरैया मुख्य सडक जीर्ण, स्थानीयलाई आवतजावतमा समस्या

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियादेखि लवतना गाउँ हुँदै औरैया भारतीय सीमासम्म जोड्ने मुख्य सडक वर्षौंदेखि जीर्ण बन्दै गएको छ । मर्मत अभावका कारण सडक खाल्डाखुल्डीले भरिएको हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

दैनिक सयौँ सवारीसाधन सञ्चालन हुने उक्त सडक वर्षातमा हिलाम्मे र सुक्खायाममा धुलाम्मे बन्ने गरेको स्थानीयवासीले बताएका छन् । सडकका अधिकांश भागमा ठूला–ठूला खाल्डा परेकाले यात्रा जोखिमपूर्ण बनेको छ ।

स्थानीय दीपेन्द्र गुप्ताले सामान्य वर्षा हुँदा समेत सडकमा पानी जम्ने र आवतजावत गर्न कठिन हुने गरेको बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स, विद्यालय जाने विद्यार्थी, किसान तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधनलाई बढी समस्या हुने गरेको छ ।

स्थानीय जगदीश रौनियारले सडकको दयनीय अवस्थाका कारण मोटरसाइकल दुर्घटना बढ्दै गएको बताउनुभयो । “सडकमा जताततै खाल्डाखुल्डी छन्, रातिको समयमा यात्रा गर्दा झन् जोखिम हुन्छ,” उहाँले भन्नुभयो ।

त्यसैगरी स्थानीय बद्री गुप्ताले कतिपय स्थानमा कालोपत्रे पूर्ण रूपमा उप्किएको र नालाको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी सडकमै जम्ने गरेको गुनासो गर्नुभयो । “स्थानीयवासीले पटक–पटक सडक मर्मतको माग गरे पनि सम्बन्धित निकायले चासो दिएको छैन,” उहाँले भन्नुभयो ।

सीमावर्ती क्षेत्रसम्म जोडिने भएकाले उक्त सडक स्थानीय व्यापार तथा आवतजावतका हिसाबले महत्वपूर्ण मानिन्छ । दैनिक रूपमा नागरिक बजार, स्वास्थ्य संस्था तथा प्रशासनिक कामका लागि यही सडक प्रयोग गर्ने गरेका छन् ।

स्थानीयवासीले वर्षायामअघि नै सडक मर्मत गरी सहज आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button