तपाईँ सुन्दै हुनुहुन्छः

ड्याम भत्किएको लामो समयसम्म पुनःनिर्माण नहुँदा किसानलाई समस्या

रौतहट  । ड्याम भत्केपछि जिल्ला चन्द्रपुर नगरपालिका वडा नं–३ गैडाटारका किसानलाई सिँचाइ गर्न समस्या भएको छ । 

निर्माण गरिएको सिँचाइ ड्याम भत्किएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण नहुँदा किसानहरु समस्या भएको हो ।

मुख्य संरचना नै बिग्रिएपछि आधुनिक कुलो विस्तार भएको क्षेत्र समेत अहिले प्रभावहीन बनेको छ । चाँदी खोलाबाट पानी सङ्कलन गरी वितरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त ड्याम गत वर्षको बाढीले बगाएपछि यहाँको कृषि प्रणाली नै अस्तव्यस्त बनेका छ । 

सिँचाइ अभावका कारण उर्वर मानिने गैडाटार क्षेत्रमै अहिले उत्पादन घट्दै गएको किसानहरु बताउँछन् । स्थानीय किसान घनश्याम खनालका अनुसार समयमा पानी नपाउँदा धान, तरकारी जस्ता मुख्य बाली प्रभावित भएको छ । “मेहनत गरे पनि अपेक्षा अनुसार उत्पादन आउँदैन,” किसान खनालले भन्नुभयो ।

यता पछिल्लो समय केरा खेतीतर्फ किसानको आकर्षण बढे पनि आवश्यक समयमा सिँचाइ गर्न नसक्दा त्यसको भविष्यसमेत अन्योलमा परेको छ । केरा खेतीका लागि वर्षमा कम्तीमा दुई पटक पानी आवश्यक पर्ने भए पनि हालको अवस्थामा त्यो सम्भव छैन ।

स्थानीय किसानहरूले अस्थायी रूपमा ढुङ्गा, बालुवा, गिट्टी र माटो प्रयोग गरी सानो बाँध बनाएर सिँचाइ गर्ने प्रयास गरिरहेका छन् । तर सामान्य बहावले पनि त्यस्ता संरचना बगाउने भएकाले पटक–पटक मर्मत गर्नुपर्ने अवस्था रहेको केरा किसान दिपक श्रेष्ठ बताउनुहुन्छ ।

ड्याम पुनःनिर्माणका लागि विभिन्न तहका सरकारलाई ध्यानाकर्षण गराइए पनि काम अघि बढ्न नसकेको वडाध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सिँचाइ समस्या समाधान नभए कृषिमा आधारित स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्नेछ ।

समयमै पुनःनिर्माण नहुँदा किसानहरू निराश बन्दै गएका छन् । उनीहरूले अब आश्वासनभन्दा व्यवहारमा देखिने कामको माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button