तपाईँ सुन्दै हुनुहुन्छः

श्रमको सम्मान र सामाजिक सुरक्षामा पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको समुन्नति श्रमिकहरूको श्रम, सीप, पसिना र समर्पणमै निहित रहने उल्लेख गर्नुभएको छ। उहाँले श्रमको उचित सम्मान, श्रमिक अधिकारको संरक्षण र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि राज्य र सरोकारवाला सबै पक्षको प्रतिबद्धता अपरिहार्य रहेकोमा जोड दिनुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो समय र प्रविधिको तीव्र विकासले श्रम बजारमा चुनौती र अवसर दुवै सिर्जना गरेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “यी चुनौतीहरूलाई सामना गर्दै नयाँ अवसरहरूको सदुपयोग गर्न श्रमिकहरूले निरन्तर सीप विकास र सिर्जनात्मक सोचका साथ समयअनुकूल हुँदै अघि बढ्नु आवश्यक छ।”

मे दिवसले सम्पूर्ण श्रमिकहरूमा नयाँ उत्साह, आत्मविश्वास र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उहाँले यो दिवसले ‘समृद्ध नेपाल निर्माण’ को साझा अभियानमा थप प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नुभएको छ।

नेपालमा हरेक वर्ष मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ, जसमा श्रमिकको हकहित र अधिकारका विषयमा चर्चा गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button