नेपालगञ्जमा नेत्रहीन विद्यार्थीको सहयोगार्थ राष्ट्रिय रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने
बाँके। बाँकेको नेपालगञ्जमा नेत्रहीन विद्यार्थीहरूको सहयोगार्थ राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सुनर इभेन्ट प्रा.लिको आयोजनामा बैशाख २५ गतेदेखि सुरु हुने प्रतियोगिताबारे मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रतियोगिता राति ७:३० बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार देशभरबाट कम्तीमा ४० टिम सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले बैशाख १६ देखि २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् भने प्रत्येक टिमले ११ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ।
सुनर इभेन्ट प्रा.लिका अध्यक्ष नरपतिनाथ योगीका अनुसार प्रतियोगिताको विजेता टिमलाई १ लाख रुपैयाँ र उपविजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। ‘म्यान अफ द सिरिज’ लाई एनएस बजारको तर्फबाट बाइक पुरस्कार र ‘म्यान अफ द म्याच’ लाई कृष्टल विद्यालयले ११ हजार रुपैयाँ नगद प्रदान गर्नेछ।
नेपालगञ्ज बसपार्क नजिक विद्युत प्राधिकरण छेउको खेल मैदानमा हुने प्रतियोगिताको अनुमानित लागत करिब ८ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
अध्यक्ष योगीले प्रतियोगिताबाट बचत हुने रकम नेत्रहीन संघमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सुधारमा खर्च गरिने जानकारी दिनुभयो। नेत्रहीन संघका सल्लाहकार खेम रानाले समावेशी शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले प्रतियोगिताले सामाजिक सन्देश दिने भएकाले सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा आयोजक, विद्यालय प्रतिनिधि र सामाजिक व्यक्तिहरूले पनि धारणा राखेका थिए।








प्रतिक्रिया राख्नुहोस्