नवलपरासी पश्चिममा नयाँ शैक्षिक सत्र बैशाख १४ देखि सुरु हुने
नवलपरासी (पश्चिम) । जिल्लाका सातै स्थानीय तहले नयाँ शैक्षिक सत्रअन्तर्गत बैशाख १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । शुक्रबार बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा जिल्लाका सबै पालिका प्रमुखहरूको सहभागिता रहेको थियो । हालको शैक्षिक अवस्थाले शिक्षक, कर्मचारी र विद्यार्थीमा पारेको असर तथा देखिएको अन्योललाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकले विद्यालय सञ्चालनसँगै अन्य चार महत्वपूर्ण विषयमा पनि निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण विकास निर्माणमा परेको असरलाई ध्यानमा राख्दै जिल्ला दररेट वृद्धि गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
त्यस्तै, एक सय रुपैयाँभन्दा बढीका सामान आयातमा गरिएको कडाइले दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवहारिक सम्बन्धमा असर परेको भन्दै उक्त नीति पुनरावलोकन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।
यसैगरी, जिल्लामा मलखाद अभाव देखिएकाले आपूर्ति सहज बनाउन कोटा वृद्धि गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सुनवल नगर प्रमुख बिमला अर्याल, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद थारु, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु गुप्ता, रामग्राम नगर प्रमुख धनपत यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्