तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता २०८२’ सार्वजनिक

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता २०८२’ कार्यान्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो ।

सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरू बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारबाहीका लागि स्थानीय तहमा निमार्ण गरिएको कानून महत्वपूर्ण भएको भन्दै यसबारे सचेतना अभिवृद्धि गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । सामाजिक विकास समितिका संयोजक कृष्णकुमारी पोख्रेलले महिला तथा बालिका हिंसाका घटनाहरू समाजमा अहिले पनि बढिरहेकाले समाजलाई चेतनाशील बनाउनुपर्नेमा जोड दिँदै यस विरुद्धको कानूनले पीडितले न्याय पाउने र लुकेका घटनाहरू समेत बाहिर आउने विश्वास गर्नुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले यौनजन्य दुर्व्यवहारका घटना विद्यालयहरूमा बढी हुने भएकाले यो कानूनलाई विद्यालयमा कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै यसबारे गाउँ टोलका विद्यार्थी तथा अभिभावकलाई सचेत गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा विधायन समितिका संयोजक पार्वती विश्वकर्मा, सदस्य मिना सुनार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सुशिला न्यौपाने, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका महासचिव अधिवक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा पालिकाले कानून निमार्ण गरेको भन्दै महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रलाई सम्मान पत्र समेत प्रदान गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button