तपाईँ सुन्दै हुनुहुन्छः

  हेमजामा आलु महोत्सव सुरु

कास्की । कास्कीको हेमजामा १४ औँ राष्ट्रिय आलु महोत्सव सुरु भएको छ। “सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक” भन्ने नारासहित आयोजना गरिएको महोत्सव चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सव विष्णुपादुका क्लबको आयोजनामा भइरहेको हो । आयोजकका अनुसार हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा चिनाउने, कृषकलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुबाट बनेका विभिन्न परिकार, कृषि प्रविधि सम्बन्धी जानकारी, सांस्कृतिक कार्यक्रम तथा कृषक सम्मान जस्ता कार्यक्रम समावेश गरिएका छन् । साथै कृषि उपज, बीउ–बिजन र कृषि औजारको समेत प्रदर्शनी गरिनेछ।

हेमजालाई “आलु गाउँ” का रूपमा परिचित गराउँदै किसानलाई उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना हुँदै आएको आयोजकले जनाएको छ।

यस वर्षको महोत्सवमा ठूलो परिमाणमा आलु बिक्री गर्ने लक्ष्य राखिएको छ भने स्थानीय कृषक तथा उपभोक्ताको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सव स्थलमा आलुको मूल्य प्रति केजी ३५ रुपियाँ कायम गरिएको छ  । आलुका विभिन्न परिकार माला लगाएर स्थानीयहरूले महोत्सव स्थल पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button