तपाईँ सुन्दै हुनुहुन्छः

बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन

तम्घास । गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको थियो । 

गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाउनुभएको थियो ।

सोही पत्रका आधारमा चन्दा उठाएर मादक पदार्थ सेवन गरी छोरीसहित झम्मन सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिनुभयो । धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन् । 

गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आउनुभएको थियो । सन्तानमा उनकी एक्ली छोरी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासी गर्ने कार्य जारी रहेको बताउनुभयो । मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको ‘लोकेसन ट्र्याक’ गर्ने काम भएको अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button