तपाईँ सुन्दै हुनुहुन्छः

मुक्तिनाथबारे मैथिली भाषामा पहिलो कृति ‘जगन्मुक्ति’ लोकार्पण

गण्डकी। राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ।

उक्त पुस्तक नेपाल पत्रकार महासङ्घ बाग्लुङद्वारा आयोजित ‘बाग्लुङ मिडिया मेला, २०८२’को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा लोकार्पण गरिएको हो।

साहित्यमा ‘धर्मेन्द्र विह्वल’ उपनामले परिचित लेखक झाले हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङस्थित मुक्तिनाथदेखि समुद्र किनारमा अवस्थित जगन्नाथसम्मको यात्रालाई पुस्तकमा समेट्नुभएको छ।

मुक्तिनाथका विषयमा मैथिली भाषामा लेखिएको पहिलो कृतिका रूपमा ‘जगन्मुक्ति’ रहेको उल्लेख गर्दै लेखक झाले मैथिली भाषी समुदायका लागि मुक्तिनाथबारे जानकारी लिन र बुझ्न यो पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ। मुक्तिनाथ शालग्रामको केन्द्र हो।”

१०२ पृष्ठको यस पुस्तकमा यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुका साथै महत्वपूर्ण तस्वीरहरू पनि समावेश गरिएको छ।

लेखक झाका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद), ‘गोनु झाका कथाहरू’लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button