बाजुरामा अटो व्यवसायप्रति युवाको आकर्षण बढ्दो
रोजगारी र आम्दानीको नयाँ विकल्प

बाजुरा। बाजुरामा पछिल्लो समय अटो व्यवसायप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।
कम लगानीमै सुरु गर्न सकिने र छोटो दूरीमै सञ्चालन गरेर राम्रो आम्दानी लिन सकिने भएकाले अटो व्यवसाय युवा पुस्ताका लागि भरपर्दो रोजगारीको माध्यम बन्दै गएको हो।

जिल्लाको तिपाडा बजारदेखि सदरमुकाम मार्तडीसम्म अटो सञ्चालन गर्दै आउनुभएका व्यवसायी चन्द साउँदका अनुसार अटो व्यवसायले घरपरिवार धान्न सहज बनाएको छ। “पहिले रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था थियो, अहिले आफ्नै ठाउँमा काम गरेर राम्रो आम्दानी भइरहेको छ,”उहाँले बताउनुभयो।
बडिमालिका नगरपालिका भित्र मात्रै हाल १३ जना युवाहरू व्यावसायिक रूपमा अटो सञ्चालनमा संलग्न रहनु भएको छ। स्थानीय स्तरमै यात्रु सेवा प्रदान गर्दै आएका यी अटोहरूले छोटो दूरीका यात्रुहरूका लागि सहज र सुलभ यातायातको विकल्प पनि दिएका छन्। अर्का अटो व्यवसायी रूपक थापाले अटो व्यवसायबाट वार्षिक रूपमा राम्रो आम्दानी भइरहेको बताउनुभयो। “थोरै लगानीमा सुरु गर्न सकिने र दैनिक खर्च पनि कम हुने भएकाले बचत राम्रो हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार बजार क्षेत्र र वरपरका गाउँमा दैनिक यात्रु आवतजावत बढ्दै जाँदा अटो व्यवसाय अझै सम्भावनायुक्त बन्दै गएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै युवा पलायन घटाउन अटो व्यवसायले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ। पछिल्लो समय सडक सञ्जाल विस्तार र बजार क्षेत्रको विकाससँगै अटोको माग बढ्दै गएकोले आगामी दिनमा अझ धेरै युवाहरू यस व्यवसायतर्फ आकर्षित हुने अपेक्षा गरिएको छ।
स्थानीय नागरिकका लागि समेत छोटो दुरीमा यात्रा गर्न सजिलो र भरपर्दो यातायातको साधनका रुपमा तीन पाङ्ग्रे अटो परिचित बनिरहेको छ। बाजुराको बुढिगंगा,बडिमालिका नगरपालिका र कुन्ना क्षेत्रका कर्णाली करिडोरमा अटो सञ्चालन भइरहेका छन्।








प्रतिक्रिया राख्नुहोस्