तपाईँ सुन्दै हुनुहुन्छः

बाँके मालपोतले १३ हजारभन्दा बढी जग्गा अभिलेख पुनर्जीवित

बाँके। नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को स्रेस्ता पुनः कायम गर्न सफल भएको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा भएको आगजनीबाट भवनसहित महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। त्यसपछि असोज र कात्तिक महिनाभर सेवा अवरुद्ध भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा पुनः सञ्चालन गरिएको थियो।

कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीका अनुसार मङ्सिरदेखि चैत ८ गतेसम्म १३ हजार ४०९ जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको छ। उहाँले भन्नुभयो, “आगजनीबाट नष्ट भएका अभिलेखहरूको पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइएको छ। सेवाग्राहीलाई सहज सेवा दिन हामी प्रतिबद्ध छौँ।”

उहाँका अनुसार विसं २०७४ पछिका अभिलेखहरू डिजिटल प्रणालीमा भएकाले पुनःस्थापनामा सहज भएको छ। तर, त्यसअघिका अभिलेखमा रोक्का यकिन गर्नुपर्ने तथा सूचना प्रकाशनजस्ता प्रक्रियागत कारणले केही ढिलाइ हुने गरेको छ।

सेवाग्राहीको सुविधा लक्षित गर्दै कार्यालयले हालै ‘सेवाग्राही सहायता कक्ष’ स्थापना गरेको छ, जसले आवश्यक सहजीकरण र समन्वयमा सहयोग गरिरहेको छ। लेखापढी व्यवसायीमार्फत सेवा लिँदा अनावश्यक आर्थिक भार पर्ने भएकाले नागरिकलाई सिधै सहायता कक्षबाट सेवा लिन आग्रह गरिएको छ।

मालपोत विभागको अनलाइन प्रणालीमा समस्या नआएसम्म सेवा प्रवाहमा ढिलासुस्ती नहुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button