करेन्ट लागेर वृद्धाको मृत्यु
रौतहट । रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्रपुर नगरपालिका–८ बसन्तपुरस्थित आफ्नी छोरी–ज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन् । आइतबार दिउँसो करिब १२ बजे मटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उहाँ गम्भीर घाइते भएकी थिइन् ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि चपुरस्थित अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा टोली खटिएको थियो । टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ ।
शव परीक्षणका लागि सरकारी अस्पताल चपुर पठाइएको र पोस्टमार्टमपछि अपराह्न शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्