पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
कास्की । पोखराका पूर्व नगर प्रमुख कृष्णबहादुर थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको छ । महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ सूचनामा उल्लेख गरेको छ।
शोक बिदा सम्बन्धी सार्वजनिक सूचना अनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत् सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमा याचना पनि गरेको छ।
महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।
थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ सालमा निर्वाचित भएर काम गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्