नेपालमा कोरोना सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ । ललितपुरको किष्ट अस्पतालमा उपचारका क्रममा हिजो (ज्येष्ठ १४ गते) निधन भएका ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मृतक पुरुष यही ज्येष्ठ ११ गते कलेजोको समस्या भई उपचारका लागि अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार उहाँमा ज्येष्ठ १२ गते कोरोना सङ्क्रमण समेत पुष्टि भएको थियो । यसै गरी आज थप एक सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. देवकोटाले बिपी कोइराला क्यान्सर अस्पताल धरानमा गरिएको परीक्षणमा सप्तरीका दुई जना, कोसी अस्पतालमा झापाका २५ जना, हेटौँडा किट प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका एक जना , पोखरा प्रादेशिक प्रयोगशालामा स्याङ्जाका तीन जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसै गरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जना र बाँकेका एक जना, सेती अस्पतालमा कैलालीका दुई र दार्चुलाका एक गरी जम्मा तीन जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका आठ जना, बझाङका एक जना र एक जना बोल्न नसक्ने भएका कारण ठेगाना नखुलेको एक महिलासहित जम्मा २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।
यसै गरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका एक जना, तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, सप्तरीका १२ जना, सर्लाहीका सात जना, सिराहाका छ जना, रौतहटका तीन जना, दोलखाका दुई र सोलुखुम्बुका एक जना गरी कूल ७७ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ५१ जिल्लाका नौ सय ४० पुरुष र एक सय दुई जना महिलामा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म कूल एक सय ८७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
हालसम्म नेपालमा कूल ६० हजार छ सय ९६ जनाको पिसीआर तथा एक लाख चार हजार छ सय ३४ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार चार सय १९ जनाको पिसिआर र एक हजार सात सय ४७ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्