उदयपुरमा ११ बजेसम्म २१ प्रतिशत मतदान
उदयपुर । उदयपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
बिहान ११ बजेसम्म जिल्लामा करिब २१ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजना चापागाईंका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ४९ हजार ३ सय ५६ मत खसेको छ। उदयपुरमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।
जिल्लामा कुल २ लाख ३८ हजार ९२६ मतदाता रहेकोमा अहिले सम्म २१ प्रतिशत मतदाताले मतदान गरिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। बिहानदेखि नै विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको तथा हालसम्म कुनै अप्रिय घटना नभएको प्रहरी उपरीक्षक चापागाईंले जानकारी दिनु भयो।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने निर्वाचन कार्यतालिका रहेको छ। जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाता लामबद्ध भएर मतदान गरिरहेका छन्।








प्रतिक्रिया राख्नुहोस्