तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका १० मतदान स्थल सडक पहुँचबाहिर, मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने

बाजुरा। बाजुरामा रहेका ७७ वटा मतदानस्थलमध्ये १० वटा स्थल अझै पनि सडक सञ्जालको पहुँचमा नरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ती मतदानस्थलमा सवारीसाधन पुग्न नसक्ने भएकाले कर्मचारीहरूलाई पैदलै खटाइएको छ।

यातायातको पहुँचमा नरहेका मतदानस्थलमध्ये त्रिवेणी नगरपालिका–५ किम्नीस्थित रामेश्वरी मावि, गौमुल गाउँपालिका–१ स्थित अम्लिस मावि, जगन्नाथ गाउँपालिका–४ बागापानीस्थित मालिका मावि रहेका छन्। त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका–१ को मण्डाली आधारभूत विद्यालय खोलिकोट र वडा नं। २ को बिन्दासैन आधारभूत विद्यालय फयालगाउँ पनि सडक सञ्जालबाट टाढा रहेका छन्।

सबैभन्दा विकट मानिएको हिमाली गाउँपालिकाका ५ वटा मतदानस्थलमा सवारीसाधन पुग्दैन। ती स्थलमा निर्वाचन कर्मचारीहरू तीन दिनसम्म पैदल हिँडेर पुगेका छन्। हिमाली–१ को बिच्छयाँ मावि, सोही वडाको सुनन्दा मावि, वडा नं। २ को ठुलाकोट आधारभूत विद्यालय, वडा नं। ३ को गंगा आधारभूत विद्यालय र हिमाल भक्ति प्रावि गुम्बा मतदानस्थल सडक पहुँचबाहिर रहेका छन्।

प्रजिअ निरौलाका अनुसार भौगोलिक विकटताका कारण हिमाली गाउँपालिका–१, २ र ३ का मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने व्यवस्था मिलाइएको छ। जिल्लाका सबै मतदानस्थल र केन्द्रमा कर्मचारी तथा आवश्यक सामग्री पुगिसकेको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लाभर ७७ मतदानस्थल र १ सय १८ मतदान केन्द्र कायम भएका छन्। बाजुरामा कुल ८७ हजार ८ सय ६१ मतदाता रहेका छन्। जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना रहेका छन्। २०७९ सालको प्रदेश तथा संघीय निर्वाचनका क्रममा बाजुराका केही मतदानस्थलमा झडप र फर्जी मतदानका घटना भएका थिए। विशेषगरी त्रिवेणी नगरपालिका–७ मा भएको झडपमा दुई युवाको ज्यान गएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button