होली र सार्वजनिक बिदाका दिन पनि रौतहट जिल्ला अदालत खुल्ने
रौतहट । जिल्ला अदालत रौतहटले आवश्यक सूचना जारी गर्दै होली पर्व, सार्वजनिक बिदा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिमा पनि विशेष प्रकृतिका सेवा प्रवाह जारी रहने जनाएको छ ।

अदालतका शाखा अधिकृत तिलकुमारी ढकालद्वारा जारी सूचनामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाल सरकारले फागुन १९ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ । तराई जिल्लामा फागुन १९ गते होली पर्वका कारण तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समेत सार्वजनिक बिदा परेकाले सो अवधिमा अदालत बन्द रहने भए पनि केही अत्यावश्यक सेवा भने सञ्चालन गरिने जनाइएको छ ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६९१० बमोजिम बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सुनुवाइ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने कार्यका लागि विशेष व्यवस्था मिलाइएको अदालतले जनाएको छ । सूचनाअनुसार मतदान हुने दिन फागुन २१ गते र शनिबार फागुन २३ गते बाहेक अन्य बिदाका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।
अदालतले अत्यावश्यक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको स्पष्ट पार्दै सेवाग्राहीलाई तोकिएको समयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्