तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सहरी विकास मन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । 

प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताउनुभयो । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी भई निर्वाचनमैत्री वातावरण बनाउन आमसञ्चार जगत्लाई आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, “समग्रमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सञ्चार क्षेत्रबाट सहयोग भइरहेको छ । मौन अवधिका बारेमा बुझाउने र निर्वाचन आचारसंहिताको परिपालनामा अझ बढी सहयोगको अपेक्षा निर्वाचन आयोगले गरेको छ ।” 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिमा कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत आर्थिक पक्षसँग जोडिने क्रियाकलाप गरेमा उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्माले आमसञ्चार माध्यमको हक अधिकारको प्रवद्र्धन तथा पत्रकार आचारसंहिताको परिपालनाका लागि काउन्सिलले निर्वाह गर्दैआएको भूमिकाबारे जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनका लागि सबै सञ्चारकर्मी संवेदनशील रहेर त्यसलाई  सफल तुल्याउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुँदैछ । यो अवधि मतदान सम्पन्न नहुञ्जेलसम्म कायम रहन्छ । मौन अवधिमा मत माग्न, भेला र छलफल गर्न पाइँदैन । विशेषगरी उम्मेदवार र राजनीतिक दलले मौन अवधिको पूर्ण पालना गर्नुपर्नेमा निर्वाचन आयोगले जोड दिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, छोटा सन्देश (एसएमएस), सामाजिक सञ्जालका साथै भाइबरलगायत  विद्युतीय माध्यमद्वारा मत माग्न प्रचारप्रसार गर्न पाइँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । 

आगामी बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button