चुनावी नारामै सीमित अर्घाखाँचीका ठुला आयोजना

अर्घाखाँची । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा चुनाव नजिकिँदै जाँदा प्रचार प्रसार तीव्र हुँदै गएको छ ।
घरदैलो,चुनावी सभा तथा मतदाता भेटघाटमा उम्मेदवार लागिरहेका छन् ।
मतदाता सँग मत माग्दै गर्दा उम्मेदवारले विभिन्न नारा घन्काइरहँदा जिल्लाका ठुला तथा अधुरा आयोजना भने ओझेलमा परेको स्थानीय मतदाताको गुनासो रहेको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ र प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ३ मा पर्ने नौमुले बहुउद्धेशिय जलविद्युत आयोजना,अर्घा भगवती विमानस्थल,अर्घाखाँची जिल्ला अस्पताल,गोरुसिङ्गे सन्धिखर्क सडक स्तरोन्नति लगायतका ठुला तथा जनअपेक्षित आयोजना वर्षौँदेखि अलपत्र जस्तै छन् । यी आयोजना पञ्चायतकाल देखि चुनावी नारामै सीमित रहेका छन् ।
२०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना योग्य आयोजना बाट २ सय ८१ मेघावाट बिद्युत् उत्पादन सँगै कपिलबस्तु, दाङ्ग र बाँके जिल्लाको करिब ८२ हजार हेक्टर खेतियोग्य जमिन सिञ्चित गर्ने गरी यो आयोजना निर्माण गर्ने लक्ष्य रहेको भएतापनि पटक पटकको सरकार फेरबदल र राजनैतिक अस्थिरताको चपेटाले काममा तीव्रता आउन नसकेको हो ।
एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तत्कालीन माओवादी र एमाले बाट टोप बहादुर रायमाझीले नै पटक पटक चुनाव जित्दै आउनुभएको थियो । उहाँ अहिले भुटानी शरणार्थी प्रकरणमा पुरपक्षका लागी थुनामा हुनुहुन्छ ।
अर्घाखाँचीबाट टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जा मन्त्री हुनुभयो । उहाँले काम सुरु हुन्छ भन्दै तामझामका साथ शितगंगा नगरपालिका वडा नम्बर ७ लामातालमा नौमुरे बहुउदेश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्नुभयो तर आवश्यक बजेट अभावको कारण देखाउँदै आयोजनाले अपेक्षित गति लिन सकेन ।
जुन पार्टीका नेता लामातालपुगे पनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँड्दै आएका छन् । तर सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयवासी जुनबहादुर पुलामीको गुनासो छ । नौमुरे जलविद्युत् आयोजनालाई दल तथा नेताहरूले ३९ बर्ष देखि चुनावी नारा बनाउने गरेका छन् ।
सन्धिखर्क नगरपालिका १० मा निर्माणाधीन अर्घा भगवती विमानस्थलको अवस्था पनि वर्षौँदेखि अलपत्र छ । विमानस्थलको धावनमार्ग निर्माण गरी छाडिएको सो आयोजनामा अन्य काम अगाडी बढाउन बजेट अभाव देखाउँदै काम ठप्प छ । जहाँ सवारी साधन सिकारु स्थलका रुपमा परिणत भएको छ ।
जिल्लाको एकमात्र सरकारी अस्पतालको सुविधा सम्पन्न भवन निर्माण गरी विशेषज्ञ सेवा बिस्तार गर्ने भनि डिपिआर सम्पन्न भएको बर्षौ बितिसक्दा समेत काम अगाडी बढ्न सकेको छैन । अस्पताल भवनको अभावमा दैनिक सयौँ बिरामी उपचार बाट वञ्चित हुन परेको अस्पतालका सूचना अधिकारी निम बहादुर रानाले बताउनुभयो ।
यसरी ठुला तथा जनअपेक्षित आयोजना निर्माण गर्ने कुरा चुनावी नारामै सीमित हुँदा स्थानीयमा भने दल तथा दलका नेताप्रतिको विश्वास दिनप्रतिदिन घट्दै गइरहेको देख्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्