पश्चिम नवलपरासीका मुद्दा लिएर प्रधानमन्त्रीसँग सांसदहरूको छलफल, विकासमा जोड
पश्चिम नवलपरासी । सांसदहरूले प्रधानमन्त्रीसँग सिंहदरबारमा भएको छलफलमा पश्चिम नवलपरासी जिल्लाका विकास, सीमा समस्या र पूर्वाधार निर्माणका विषयहरू प्रमुख रूपमा उठाउनुभएकाे छ। लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा भएको उक्त अन्तरक्रियामा नवलपरासी क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका ज्वलन्त मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गर्नुभएकाे थियाे।
छलफलका क्रममा सांसद खनालले नवलपरासीलाई नेपाल–भारत रणनीतिक पारवहन तथा कृषि प्रवेशद्वारका रूपमा व्याख्या गर्दै दीर्घकालीन रूपमा अलपत्र परेको हुलाकी राजमार्ग अन्तर्गत नारायण चोक–त्रिवेणी खण्ड शीघ्र सम्पन्न गर्न माग गर्नुभयाे। साथै, दाउन्ने खण्डको विकल्पका रूपमा भूताहा–संसारकोट–दुम्किबास सडक निर्माण अघि बढाउन र सुस्तावासीलाई नागरिकता तथा लालपुर्जा उपलब्ध गराउनुपर्ने विषयमा उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयाे।
त्यस्तै, सांसद गुप्ताले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे। उहाँले रामग्राम स्तूप, पण्डितपुर, देवदह र अनोमा घाटलाई समेटेर ‘बुद्ध सर्किट’ विकास गर्नुपर्ने प्रस्ताव राख्दै महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र महेन्द्र राजमार्गसँग जोड्ने चार लेन सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयाे। साथै, जिल्लामा प्राविधिक शिक्षालय स्थापना, पृथ्वी चन्द्र अस्पतालको क्षमता विस्तार तथा पाल्ही बहुमुखी क्याम्पसको जग्गा विवाद समाधान गर्नुपर्ने माग पनि अघि सार्नुभयाे।
दुवै सांसदले जिल्लाको मुख्य आधार रहेको कृषि क्षेत्र सुधारका लागि मल, बीउ र सिँचाइको सुनिश्चितता आवश्यक रहेको बताउनुभएकाे छ। गण्डक नहरको असमान सन्धि पुनरावलोकन र यसको नियमित सञ्चालन, उखु तथा केरा किसानका लागि बजार व्यवस्थापनमा सरकारको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको उहाँहरूको भनाइ थियो।
यसका साथै, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी लालपुर्जा वितरण गर्न सरकारलाई आग्रह गरिएको छ। छलफलमा सहभागी सांसदहरूले उठाइएका यी विषयहरूलाई आगामी बजेट र नीतिगत प्राथमिकतामा समेटिने अपेक्षा व्यक्त गर्नुभएकाे छ।








प्रतिक्रिया राख्नुहोस्