सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने
गण्डकी I प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ः०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहोरी साँझ, क्लब, डान्स बार, मदिरा पसल लगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ ।
उक्त नियम कार्यान्वयन भए÷नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।
कार्यालयले चुनावको सम्मुखमा परेको फागु पर्व पनि सार्वजनिक स्थलमा भिडभाड हुनेगरी नखेल्न अपिल गरेको छ ।
निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिताका कारण सडक तथा सार्वजनिक स्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो । फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ । परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्