रौतहटका ७७ उम्मेदवारले अझै खोलेनन् निर्वाचन बैंक खाता
रौतहट। रौतहटका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १४२ जनामध्ये ६५ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन्। बाँकी ७७ जना उम्मेदवारले शुक्रबार साँझसम्म आवश्यक सिफारिस नलिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।
कार्यालय प्रमुख छोटेलाल दासका अनुसार निर्वाचन खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्ने प्रक्रियामा अपेक्षाकृत कम उम्मेदवार सक्रिय देखिएका छन्। निर्वाचन सम्पन्न हुन पाँच दिन बाँकी रहँदा पनि धेरै उम्मेदवारले खाता सञ्चालन नगरेको उहाँले बताउनुभयो।
कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा दलगत १२ र स्वतन्त्र १२ गरी २४ जनाले सिफारिस लिएका छन्। क्षेत्र नम्बर २ मा दलगत ९ र स्वतन्त्र ६ गरी १५ जनाले सिफारिस लिएका छन्।
त्यसैगरी क्षेत्र नम्बर ३ मा दलगत १० र एक स्वतन्त्र गरी ११ जनाले बैंक खाता खोलेका छन् भने क्षेत्र नम्बर ४ मा दलगत १३ र स्वतन्त्र दुई गरी १५ जनाले सिफारिस लिएको कार्यालयले जनाएको छ।
निर्वाचन आयोग को निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै आय–व्यय बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था छ। निर्वाचन नजिकिँदै जाँदा पनि ७७ उम्मेदवारले खाता नखोलेकाले खर्च व्यवस्थापन र प्रतिवेदन प्रक्रियामा समस्या आउन सक्ने भन्दै कार्यालयले समयमै प्रक्रिया पूरा गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्