तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवलमा स्वास्थ्यकर्मी र प्रहरीसहित थप १६२ को स्वाब संकलन

झापा । ३३ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा स्वास्थ्यकर्मी, प्रहरी र क्वारेन्टाइनमा बसेका अन्य गरी १६२ जनाको स्वाब संकलन गरिएको छ ।

पछिल्लो स्वाब संकलनको चार दिनपछि हिजो उक्त संख्यामा स्वाब संकलन गरिएको हो ।

जिल्लामै सबैभन्दा बढी संक्रमित भेटिएपछि गाउँपालिकाले क्वारेन्टाइनमा बसेकासहित स्वास्थ्यकर्मी, सशस्त्र र नेपाल प्रहरीको पनि स्वाब सङ्कलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत ल्याब टेक्निसियन र अनमी गरी पाँचजना स्वास्थ्यकर्मी, सशस्त्र र नेपाल प्रहरी गरी २४ जना, गाउँपालिकाका एक जना ट्रयाक्टर चालक र क्वारेन्टाइनमा बसेका १३२ जनाको स्वाब संकलन गरिएको हो ।

जानकी आधारभूत पाठामारीको क्वारेनटाइनमा ३२ जना र महेन्द्र रत्न मावि केचना क्वारेनटाइनमा १०० जना रहेका छन् । उनीहरू सबै भारतको संक्रमित क्षेत्र मुम्बई र दिल्लीबाट समूह बनाएर स्वदेश फर्किएका हुन् ।

गाउँपालिकामा संक्रमित भेटिएपछि भारतबाट आउनेहरूको प्रत्यक्ष निगरानी स्वास्थ्य जाँचमा खटिएका सशस्त्र र नेपाल प्रहरी अनि स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताउनु भयो ।

संकलन गरिएको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइसकिएको र भोलिदेखि रिपोर्ट आउने बताइएको छ ।

गाउँपालिकामा यसअघि पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविका क्वारेन्टाइनमा बसेका १०५ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएसको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button