तपाईँ सुन्दै हुनुहुन्छः

गौरमा कर्फ्यु हट्यो, सद्‌भाव र्‍याली सम्पन्न

रौतहट। सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा शनिवारदेखि जारी कर्फ्यु आज बिहानबाट हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६:३० बजेदेखि कर्फ्यु आदेश हटाएको जनाएको छ ।

कर्फ्यु हटेसँगै स्थानीयवासीको दैनन्दिन गतिविधि क्रमशः सामान्य बन्दै गएको छ । बजार, यातायात तथा शैक्षिक संस्थाहरू सञ्चालनतर्फ उन्मुख भएका छन् ।

यसैबिच, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज बिहान ८:३० बजे सद्‌भाव र्‍याली निकालिएको छ । गौर नगरपालिका–६ स्थित सबगढाहाबाट सुरु भएको र्‍यालीले नगरका सबगढा गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो ।

र्‍यालीमा हिन्दु तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आपसी सद्‌भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न अनुरोध गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आह्वान गरेको छ । प्रशासनले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई सचेत गराएको छ ।

कर्फ्यु हटाइएपछि गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button