जुम्लामा गाह्रो भयो जनजीवन
खलङ्गा । सुदूरपश्चिम प्रदेशका धेरै जिल्लाका युवा अहिले पनि १५÷१६ वर्ष उमेर पुगेपछि रोजगारीका लागि भारत जाने चलन छ । यस्तो चलन कर्णाली प्रदेशमा पनि कायमै छ । उनीहरुमध्ये अधिकांश कामका लागि भारत जाने गर्छन् र केहीमात्र अन्य देशमा । यहाँ छोरा भारत नगएको घर भेटाउन मुस्किल नै पर्छ । छोरा भारत जाने उमेरको पुग्यो भने यहाँको समुदायमा बाबुका दिन फिरे भन्ने हिसाबले लिइन्छ । यतिखेर भने यहाँका स्थानीयवासीको वर्षाैंदेखिको यो चलनले खुशी दिन सकेको छैन, झन समस्या थपिदिएको छ । किन भने यहाँको प्रमुख रोजगार गन्तव्य भारत यतिखेर कोरोना भाइरसको सङ्क्रमणले बन्दाबन्दीमा छ ।
यो भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि यतिबेला बन्दाबन्दी छ । उता भारतमा बन्दाबन्दी भएर नेपाल छिरेका स्थानीय नागरिकलाई अब भने घरखर्च चलाउन पनि गाह्रो भएको छ । यतिखेर कर्णाली प्रदेशमा मात्र करिब एक लाख नागरिक भारत तथा तेस्रो मुलुकबाट घर फर्केका छन् । यसरी एकैपटक धेरैजना गाउँ आइपुगेका छन् तर यहाँ पनि रोजगारीको कुनै सम्भावना छैन । अहिलेको यो परिस्थितिले यहाँका बासिन्दामा खाद्यान्न सङ्कटको समस्या उत्पन्न हुनसक्ने स्वयं यहाँका स्थानीय जनप्रतिनिधिले नै बताउन थालेका छन् ।
जिल्लाको हिमा गाउँपालिका–४ का रतन रोकाया बिरामी भएर चौकीदारी गर्न नसक्ने भएपछि उहाँले गर्दै आएको काम गर्न गत फागुनमा उहाँका छोरा उपराज परिवारसहित भारतको नयाँ दिल्ली जानुभयो । राति कम्पनीको चौकीदारी र दिउँसो होटलमा काम गरेर उहाँले मासिक भारतीय रुपैयाँ २३ हजार जति घर पठाउनुहुन्थ्यो । त्यो पैसाले उहाँका भाइलाई कृषि विज्ञान पढ्न र बुबाको स्याउ खेतीले घरका १० जनाको परिवारको गुजारा चलाउन जसोतसो पुगेको थियो । तर यतिखेर उहाँको घरमा भारतीय रुपैयाँ आउँदैन । उपराजकै गाउँका मानसिंह रोकाया ११ कक्ष पुगेपछि पढाइ छाडेर कामका लागि भारत जानुभयो । उहाँ अहिले २२ वर्ष पुग्नुभयो । घरको जेठो छोरा भएकाले उहाँले घरका आठजना परिवारको पालनपोषणको जिम्मा लिनुपरेको छ । अब उहाँलाई पनि परिवारको गुजारा कसरी चल्ने हो भन्ने चिन्ता छ ।
यहाँको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाका ५० प्रतिशत मानिस मौसमी रोजगारीका लागि भारत जाने गरेको बताउनुभयो । तातोपानी गाउँपालिकाका तीन हजार अर्थात् त्यहाँका झण्डै एक तिहाइ मानिस कामका लागि भारतका विभिन्न शहर गएका छन् । तीमध्येका अधिकांश यतिखेर गाउँ फर्किसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । अहिले गाउँ फर्र्किएका उनीहरु अधिकांश बेरोजगार छन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत चैत ११ मा शुरु भएको लकडाउनयता करिब ३० हजारजना नेपाली खुला सिमाना हुँदै कर्णालीका विभिन्न जिल्लामा आइपुगेका छन् । जिल्लाका आठ स्थानीय तहका करिब २२ हजारजना जति भारतबाट फर्केको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
पातारासी गाउँपालिकाभित्रका स्थानीयवासी फागुन २९ यता ६०० जनाभन्दा बढी भारतमा काम छाडेर घर फर्केको गाउँपालिकाले जनाएको छ । चन्दननाथ नगरपालिकामा मात्रै दुई हजार मानिस भारतबाट फर्केको उपप्रमुख अप्सरादेवी न्यौपाने (महतले) बताउनुभयो । भारतमा वर्षको केही समयमात्र काम गर्ने मानिस मजदुरी गरेको रकमसमेत नपाएर बेखर्ची भएर घर फर्केको महतले बताउनुभयो । यसरी फर्केका मानिसलाई अहिले कहाँ बसौँ, के खाउँ भन्ने भएको छ ।
तिला गाउँपालिका–१ का हरि परियारका परिवार पाँच वर्षअघि भारत जानुभएको थियो । गत चैत १० गते उहाँहरू फर्कंदा घर खण्डहर भइसकेको थियो । हरिको परिवारमा तीन छोरी, दुई छोरा र श्रीमतीसहित सातजना छन् । अहिले उहाँहरू आफ्ना छिमेकी मुनबहादुर परियारको घरको मुनि गाईबस्तु बाँध्ने र आफूहरु माथि बस्ने गर्नुभएको छ । उहाँले साथीहरूलाई सापटी दिएको पैसा पनि फर्कनुभन्दा अघि फिर्ता लिन पनि भ्याउनुभएन । “केही व्यक्ति मिलेर निश्चित समयका लागि मासिक रकम जम्मा गर्ने र पालैपालो काम चलाउनेगरी रकम लिने अभ्यास गरेका थियौँ, मैले पनि रकम उठाउनुथियो तर पनि हिँड्ने बेलामा हतार भयो माग्न पनि पाइएन” उहाँकी श्रीमती विर्षकली परियारले बताउनुभयो । भारतमा त साउनसम्म नै बन्द हुने हल्ला भयो, आफ्नो रोजगारी पनि बन्द भयो, के गरेर परिवार पाल्ने होला भन्ने भयो र हिँड्यौँ । तर उहाँलाई नेपाल आएर पनि सुख भने छैन । अब यहाँ पनि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ ।
गुठीचौर गाउँपालिकाका दीपक बोहोराले भारतको कागज कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहाँ कमाएको पैसाले घर बस्ने सातजनाको जीविका चलेको थियो ।
उहाँले भाइ उपेशको पढाइ सकिएपछि मात्र घर फर्कने विचार गर्नुभएको थियो । तर कोरोनाका कारण उहाँको योजना भताभुङ्ग भयो । “उहाँ सबै काम ठप्प भयो, यतै पनि मजदुरी गरेर केही गरौँला भनेर यहाँ आयौँ उता भाइको पढाइ छुट्ने भयो र यता रोजगारीको समस्या छ”, दीपकले भन्नुभयो ।
भारतको कमाइको भरमा जीवनयापन गरिरहेकाहरूलाई राहत दिने कार्यक्रम गाउँपालिकासँग नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । भारतमा काम गरिरहेकाहरू अचानक घर फर्कनु परेपछि गाउँमा के कस्तो असर पर्न सक्छ र त्यसका लागि के कस्तो तयारी गर्नुपर्छ भन्नेबारे यहाँका स्थानीयवासी बढी सचेत भएका छन् । तर घर फर्किएकाहरुको समस्या भने दिनप्रतिदिन बढ्दै गएको छ ।
कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपेन्द्रप्रसाद अधिकारीका अनुसार त्यस पालिकाका तीन हजार जनाभन्दा बढी घर फर्केका छन् । “एकजनाले एक महिनामा सरदर रु पाँच हजार घरमा पठाउँथे, त्यो पैसाले खाद्यान्न, लत्ता कपडा, औषधि उपचार, बालबालिकाको शिक्षा, धार्मिक जात्रा पर्वको खर्च टथ्र्याे तर अहिले महामारीका कारण भारतमा रहेको त्यो जनशक्ति पनि घर फर्किएको छ र जसले गर्दा हाम्रो ग्रामीण अर्थतन्त्रको अवस्था के कस्तो रहेछ भन्नेबारेमा पनि बुझ्ने मौका मिलेको छ”, अधिकारीले भन्नुभयो ।
स्थानीय सरकार गठन भएपछि पनि हामीले स्थानीयवासीका लागि खासै केही गर्न सकेका रहेनछौँ भन्ने स्पष्ट भएको स्थानीय शिक्षक सुनम बुढाले बताउनुभयो । उहाँले धेरै मानिस एकैपटक गाउँ आइपुग्दा खानेपानी, खाद्यान्न तथा सरसफाइमा समेत समस्या आएको बताउनुभयो । उनीहरू तीन चार महिनासम्म काममा फर्कन पाएनन् भने खाद्यान्न सङ्कट पर्न सक्ने उहाँको अनुमान छ ।
रोजगारी गुम्ने, क्रयशक्ति घट्ने तर खाद्यान्नको आवश्यकता भने बढ्ने भएपछि सङ्कट आउनसक्ने त्रास यहाँका स्थानीयवासीमा देखिएको छ । दिनमा दुई किलो खाद्यान्न चाहिने परिवारलाई अहिले चार किलोसम्मको माग भएकोले यसले यस क्षेत्रमा खाद्य सङ्कट ल्याउन सक्ने अनुमान कृषि विकास कार्यालयका वरिष्ठ कृषि प्राविधिक खेमराज शाही लगाउनुहुन्छ । उहाँका अनुसार केही गरी खाद्यान्न पाइए पनि महँगो हुने भएकाले गरिबले किन्न नसक्ने अवस्था पनि आउनसक्ने भन्दै यस बारेमा सरकारी तथा गैरसरकारी क्षेत्रले नै सोच्नुपर्ने समय भइसकेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले कृषि रोजगारी, लघु तथा कुटिर घरेलु उद्योग, विकास निर्माणका योजनामा प्रत्यक्ष रोजगारी, व्यावसायिक पशुपालनजस्ता कार्यक्रम ल्याउनुपर्ने सुझाव नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले दिनुभयो । “बन्दाबन्दीको सबैभन्दा बढी मार मजदुरी गर्ने, दलित र विपन्न वर्गमा पर्ने भएकाले समयमै सचेत हुनुपर्छ”, उहाँले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्