कोभिड–१९ रोकथाममा युवा उद्यमीको अग्रसरता
कोभिड–१९ रोकथाम अभियानमा महोत्तरीका युवा उद्यमीले अग्रसरता देखाएका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका रोकथाम अभियानका कार्यमा जिल्लाका युवा उद्यमीले पहलकदमी लिएका हुन् ।
पछिल्लो पटक जिल्लाको सुदूरउत्तरवर्ती बर्दिवास नगरपालिकामा क्वारेन्टिन केन्द्रको सञ्चालन, व्यवस्थापनदेखि गरिब बस्तीमा राहत कार्यक्रमलाई निरन्तरता दिन स्थानीयतहको समन्वयमा युवा उद्यमीको अग्रसरता बढेको हो । बर्दिवास नगरपालिकाले सञ्चालन गर्दै आएको बर्दिवास सेवा समितिको भवनमा सञ्चालित क्वारेन्टिन केन्द्रको व्यवस्थापकीय जिम्मा यहीकै होटल विनायकका कार्यकारी निर्देशक ३५ वर्षीय विष्णु खड्काले लिनुभएको छ ।
यसअघि खानपानदेखि बसोबास र अन्य हेरचाहका कुरामा वास्ता नभएको गुनासो गर्दै आएका क्वारेन्टिनमा बस्नेले खड्काको व्यवस्थापनमा सबै कुरा राम्रो हुँदै गएको प्रतिक्रिया दिएका छन् । “हामीलाई सबै कुरा ठीक छ, बासमती चामलको भात, रहरको दाल, हरियो सागसब्जी र अचारसहितको भोजन पाइरहेका छौँ”, क्वारेन्टिन केन्द्रमा बसिरहेका बर्दिवास–१३ का लालबाबु राउतले भन्नुभयो, “दिनैपिच्छे फरक÷फरक परिकारको खाजा पाएका छौँ, अबको यहाँको बसाइमा कुनै गुनासो छैन ।” खड्काले व्यवस्थापकीय जिम्मेवारी लिएयता साबुन, स्यानिटाइजर, मास्कसहितका सामग्री र पानी तताउने मग, खानेपानीका छुट्टाछुट्टै जारसँगै केन्द्रमा नेट (वाइफाइ) जडान भएपछि समय बिताउन सजिलो भएको राउतसहितका केन्द्रमा बसिरहेका १७ जनाको भनाइ छ ।
चार दिनअघि गत बुधबार खड्काले केन्द्रको जिम्मेवारी सम्हालेसँगै आफूले दिने सेवाको सूची नै तयार गरेर लिखित प्रतिबद्धता जनाउनुभएको थियो । खानपानमा सहज र आवश्यक सामग्री पाइन थालिएपछि रेखदेख गर्न आउने स्वास्थ्यकर्मीको सक्रियता पनि बढ्दै गएको केन्द्रमा रहेकाको सकारात्मक टिप्पणी छ । बर्दिवास–१ स्थित क्वारेन्टाइनमा उदयपुरका एक र बर्दिवास नगर क्षेत्रभित्रका १६ सहित हाल १७ जना रहँदै आएका छन् ।
यसैबीच लकडाउन लम्बिँदै जाँदा काम गर्न बाहिर जान नसकेपछि खानपिनको समस्या पर्ने बर्दिवास–१ सनीगाछी र गाल्टारका १८० परिवार दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मुस्लिम, दलित र जनजाति समुदायका घरधुरीलाई अर्का उद्यमीले नगरपालिकाकै समन्वयमा राहत घरघरै पुर्याएका छन् । बर्दिवास–१ मै सञ्चालित आरसी लिड एण्ड ब्याट्री उद्योगका सञ्चालक रमेश, कुमार र विनोद भण्डारी दाजुभाइले १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक पोका खानेतेलसहितको पोका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेलको अगुवाइमा घरघरै पु¥याउनुभएको हो ।
कोभिड–१९ रोकथाम अभियानमा स्थानीय युवा उद्यमीले सहभागिता बढाएपछि काम सहज हुँदै गएको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीको भनाइ छ । “युवा उद्यमी साथीले यो महामारीमा खासखास जिम्मेवारी लिँदै गएपछि थप योजना बनाउन र काम गर्न सजिलो भएको छ, आइपर्ने थप कामका लागि जिम्मेवारी लिन युवा उद्यमी सम्पर्कमा आउने क्रम पनि जारी छ”, कार्कीले भन्नुभयो, “छिमेकको भारतमा रेल सेवा सञ्चालनले घर फर्कने बढ्दै जाँदा अब हामी उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टिन बढाउन लागि परेका छौँ ।” अब तत्कालै ७५ श्ययाको थप क्वारेन्टिन, बर्दिवास अस्पतालमा ५० श्ययाको आइसोलेसन र पिसिआर परीक्षणका लागि आवश्यक उपकरणको व्यवस्था गरेर सघन परीक्षण सञ्चालन गरिने कार्कीको थप भनाइ छ ।
कोभिड–१९ रोकथाम अभियानमा खास जिम्मेवारी बोक्ने गरी उद्यमीको चासो बढ्दै गएको छ । यसबीचमै रोटरी क्लबमा आबद्ध युवाले नगरका स्वास्थ्य संस्था र यस भेगमा कार्यरत सञ्चारकर्मीका लागि कोभिड–१९ रोकथामका सुरक्षा सामग्री हातहातमा पु¥याएका छन् ।
त्यसैगरी ‘भोर’ संस्थाका अध्यक्ष राजकुमार महतोले दलित बस्तीमा राहत पुर्याउन सहयोग गर्नुभएको बर्दिवास नगरपालिकाले जनाएको छ । सहयोगी हात स्थानीय तहको समन्वयमा काम गरिरहेका हुँदा थोरै कामको प्रभाव पनि राम्रो देखिने गरेको नगर प्रमुख कार्कीको ठम्याइ छ ।
यसैबीच बर्दिवासका उत्साही युवाले ‘जनसहयोगी युवा सञ्जाल बर्दिवास, महोत्तरी’ गठन नै गरेर स्थानीय तहको समन्वयमा भोका, प्यासाको उद्धार कार्य थालेका छन् । कतैबाट भौँतारिँदै बर्दिवास नगर क्षेत्र आइपुगेका जोसुकै भोकालाई खुवाउने र आवश्यकतानुसार क्वारेन्टिनमा वा गन्तव्यमा पुर्याउन सहयोग गर्ने गरिएको सञ्जालका संयोजक परमेश्वर महतोको भनाइ छ ।
बर्दिवासमा कोभिड–१९ रोकथाममा निजी क्षेत्रको सहभागिता बढ्दै गएपछि कामको परिणाममा देखिएको सकारात्मक प्रभावबारे छिमेकका स्थानीय तहमा पनि बाक्लै चर्चा हुन थालेको छ । यसैबीच जिल्लाकै भङ्गाहा, औरही, गौशाला र रामगोपालपुर तथा छिमेकको धनुषा जिल्लामा पर्ने मिथिला नगरपालिकाले पनि अभियानमा सहभागिताका लागि निजी क्षेत्रलाई आह्वान गरिएको जनाएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्