तपाईँ सुन्दै हुनुहुन्छः

‘पीएसबीका योजना अघि बढाउन आर्थिक र स्रोत व्यवस्थापन आवश्यक’

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपाल (पी एस बी) का योजना प्रभावकारी रूपमा अघि बढाउन स्रोत व्यवस्थापन र आर्थिक स्पष्टता आवश्यक रहेको बताउनुभएको छ ।

पी. एस. बी नेपालको विद्यमान अवस्थाबारे आज सिंहदरबारमा भएको छलफलमा सञ्चार सचिव बस्नेतले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरिएकाले केही पुराना अभ्यास परिवर्तन हुन समय लाग्ने भए पनि परिवर्तित सन्दर्भमा आवश्यकता अनुसार एकीकृत रूपमा दुवै संस्था अघि बढ्दै जानुपर्ने बताउनुभयो ।

सञ्चार सचिव बस्नेतले कर्मचारीको उत्प्रेरणा बढाउन र नयाँ नीति तथा प्रणाली सहजीकरणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नीति–योजना, बजेट तर्जुमा तथा संस्थागत सुधारका काम अघि बढाइएको जानकारी दिनुभयो । 

कार्यकारी अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणलाई नागरिकप्रति बढी उत्तरदायी बनाउन डिजिटल प्राबिधिको विकास , प्राविधिक रूपान्तरण तथा सीमान्तकृत समुदायको आवाज समेटी पहुँच विस्तार गर्ने काम भइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको सेवा प्रवाह सुधार तथा आर्थिक पक्ष बलियो बनाउन विदेशी अनुदान र बजेट विनियोजन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्तै कार्यक्रममा सहभागी सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीहरूले ऐन संशोधन, कोष व्यवस्थापन, सुविधा कटौती नगरी विनियमावली तयारी तथा अवकाशप्राप्त कर्मचारीको पेन्सन सुनिश्चिततामा जोड दिनुभयो ।

तस्बिर: मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button