रौतहटमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप अभियान सुरु

रौतहट I रौतहटका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित गर्न आजदेखि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा दुई चरणमा सञ्चालन हुने यस अभियानअन्तर्गत जिल्लाभरका १७ हजार ३ सय १९ किशोरीलाई निःशुल्क खोप लगाइने छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा माघ २५ गतेदेखि २९ गतेसम्म फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढीमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालनमा आएको हो ।

त्यसैगरी दोस्रो चरणमा फागुन १ गतेदेखि फागुन ६ गतेसम्म चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया, राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा एचपीभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका साथै विद्यालय बाहिर रहेका किशोरीहरूलाई समेत खोप लगाइने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोग भएकाले समयमै एचपीभी खोप लगाउनु अत्यन्त प्रभावकारी उपाय भएको बताउनुभयो। उहाँले अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय, स्थानीय तह र सरोकारवाला सबैको सहयोग आवश्यक रहेको भन्दै सबैलाई सहभागिता जनाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्