यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद
काठमाडौँ । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस, नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत अन्य दलहरूका उम्मेदवारहरूलाई पराजित गर्दै निर्वाचित भएका हुन ।
कोशी प्रदेशबाट एमालेका मेचे र पोर्तेल निर्वाचित, थापा निर्विरोध निर्वाचित
राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ ।

आज भएको निर्वाचनमा महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभयो । मेचेले ७ हजार १७३ मतभार प्राप्त गर्नुभयो । न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गर्नु भएको छ ।
यसैगरि दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गर्नु भएको हो । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गर्नुभयो भने सुन्दासले २ हजार २७ मत प्राप्त गर्नुभयो ।
खुल्ला सदस्यमा यसअघि नै नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको थियो । कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो ।
मधेस प्रदेशबाट झा, कर्ण, पासवान र ठाकुर विजयी
मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी हुनुभएको छ ।

महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार २२२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकलादेवी साहले ३२२ मत प्राप्त गर्नुभयो ।
अल्पसङ्ख्यक कलष्टरतर्फ नेपाली काँग्रेसका रञ्जित कर्ण आठ हजार ९३ मतसहित विजयी हुनुभएको छ । नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत तथा जसपाका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गर्नुभयो । यसतर्फ ११४ मत बदर भएको छ ।
दलित कलष्टरतर्फ नेपाली काँग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतसहित निर्वाचित हुनुभएको छ । नेकपाका शम्भु पासवानले एक हजार ३७६ मत र जसपाकी चमेलीदेवी दासले २०९ मत प्राप्त गर्नुभयो ।
अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर सात हजार ७२५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत प्राप्त गर्नुभयो भने ३१५ मत बदर भएको छ ।
बागमती प्रदेशबाट काँग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी
बागमती प्रदेशबाट महिलातर्फ नेपाली काँग्रेसका उम्मेदवार गीता देवकोटा र नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी हुनुभएको छ ।

काँग्रेसकी देवकोटाले छ हजार २३९ मतभार प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयो ।
यसैगरी एमालेका प्रेमप्रसाद दङ्गालले छ हजार २०५ मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभयो।
गण्डकी प्रदेशबाट तिमिल्सिना र देवकोटा विजयी
गण्डकी प्रदेशबाट ‘अन्य समूह’मा नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको छ ।

पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाउनुभयो । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाउनुभयो ।
यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाउनुभयो ।
लुम्बिनीबाट घिमिरे, झाँक्री र केसी विजयी
निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य काँग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ । आइतबार साँझ मतगणना सकिएकोमा महिला तर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री, अपाङ्गतर्फ काँग्रेसका वासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा काँग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाँक्रीले छ हजार ३३० मतभार पाउनुभयो । त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले एक हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याउनुभयो ।
अपाङ्गतातर्फ जङ्गली पाँच हजार ३२२ मतभार प्राप्त गर्दै विजयी हुनुभयो । नेकपाका सजन विकले एक हजार ६०१ मतभार ल्याउनुभयो । अन्य क्लस्टरमा काँग्रेसकै चन्द्र बहादुर केसी पाँच हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभयो ।
कर्णालीबाट शाही र रखाल निर्वाचित
कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल काँग्रेस–एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।

एमालेबाट मिनासिंह रखाल र काँग्रेसबाट जुम्लाका ललितजंश शाही विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका दुवै उम्मेदवार पराजित भएका छन् ।
रखालले प्रदेशसभातर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार अञ्जु महताराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, नेपाली काँग्रेसबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नुभएका ललितजंग शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशबाट काँग्रेसका खाती र एमालेका भण्डारी निर्वाचित
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका खम्म बहादुर खाती र नेकपा एमालेका लीला कुमारी भण्डारी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाती (अन्य) र भण्डारी (महिला) तर्फ निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचित खातीले ३९६९ मतभार र भण्डारीले ३९८४ मतभार प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य पदमा पराजित नेपाली कम्युनिष्ट पार्टीका टिकाराम जैशीले अन्य १८०५ मतभार र १६७६ रोजी बस्नेत सुनारले महिलातर्फ मतभार प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्