तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ । 

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, बैठकले काँग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले जानकारी दिनुभयो । साथै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि निर्णय उहाँले बताउनुभयो ।

प्रवक्ता चालिसेका अनुसार आजकै बैठकले पार्टीका तर्फबाट सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । 

बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button