तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो, सात जनाको आरडीटी रिपोर्ट पोजेटिभ

भद्रपुर, झापा । झापामा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ७ का १५ जना थपिएको जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषहरूमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मङ्गलवार आएका उनीहरूलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेनटाइन राखिएको थियो ।

क्वारेनटाइनमा बसेका ६५ जनाको स्वाब सङ्कलन गरी मङ्गलवार नै कोसी अस्पताल विराटनगर पठाइएकोमा तीमध्ये पाँच जनाको बुधवार नै कोरोना पुष्टि भएको थियो भने आज थप १५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि सो पालिकामै भारतको मुम्बईबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । हिजोसम्म केही वडा सिल गरेको कचनकवलले आजदेखि पुरै गाउँपालिका सिल गरेको छ ।

सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि झापा कोरोनाको उच्च जोखिममा पर्न थालेको छ भने झापावासी थप त्रसित बनेका छन् ।

स्थानीय तहहरुले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिकाले बाहिरबाट आफ्नो क्षेत्रमा प्रवेश र आफ्नो पालिकाबाट बाहिर जान रोक लगाएको छ ।

भारतबाट लुकीछिपी आउनेहरूले जिल्लामा समस्या सिर्जना गरेको झापावासीको गुनासो छ ।

यसैबिच, मेची बहूमुखी क्याम्पस भद्रपुर र कलवलगुरी प्रशिक्षण केन्द्रका क्वारेनटाइनमा बसेका एक सय ४५ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ ।

त्यसमध्ये सात जनाको आरडिटी रिपोर्टमा कोरोना एन्टीबडी पोजेटिभ आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभएको छ ।

क्याम्पसका चार र कलवलगुरीका तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि २५ जनाको स्वाब पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।

क्याम्पस र कलवलगुरी क्वारेनटाइनमा बसेका सबै भारतबाट आएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button