तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ टाइगर कप भलिबलमा विदेशीसहित महिलातर्फ ५ र पुरुषतर्फ ६ टोलीको सहभागिता हुने

पोखरा । पोखरामा यही माघ ९ गतेदेखि सुरु हुने छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा विदेशी सहित महिला तर्फ ५ र पुरुष तर्फ भने ६ टिमको सहभागिता हुने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज सार्वजनिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्यूविन्स सहित ५ टिमको सहभागिता हुने भएको छ भने पुरुष तर्फ माल्दिप्सको राष्ट्रिय भलिबल टोली सहित ६ टिमको सहभागिता हुने भएको हो ।

बिहीबार देखि सुरु हुने प्रतियोगिताको पहिलो दिनमा महिला तर्फ बिहान ९ः०० बजे टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब बिचको खेल हुने भएको प्रतियोगिताका संयोजक कुमार गुरुङले बताउनु भयो । उहाँका अनुसार बिहीबार पुरुष तर्फ त्रिभुवन आर्मी क्लब विरुद्ध माल्दिप्स र अर्को खेलमा गण्डकी भलिबल संघ विरुद्ध एपिएफ बिच खेल हुने भएको छ ।

प्रतियोगितामा महिला तर्फ तीन विभागीय एपिएफ, पुलिस, आर्मी सहभागी हुने भएकाछन भने डायमण्ड र थाइल्याण्ड क्यूविकन्सको समूह गरी ५ टिम सहभागी हुने भएको संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । त्यसै गरी पुरुष तर्फ माल्दिप्स सहित तीन विभागीय एपिएफ, पुलिस, आर्मी, गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ सहभागी हुने भएका हुन् । महिला तर्फ एभरेष्ट भलिबल क्लब सहभागी हुने तयारी गरी पनि प्राविधिक कारणले गर्दा अन्तिम समयमा प्रतियोगितामा सहभागी नभएको बताइन्छ ।

“मैदान व्यवस्थापन, आवास, यातायात र खेल तालिकासहितका सबै काम लगभग सम्पन्न भइसकेको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनु भयो । संयोजक गुरुङका अनुसार प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जसअन्तर्गत सबै टोलीले एक–आपसमा खेल्नेछन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीहरूबिच प्लेअफ खेलमार्फत विजेता, उपविजेता र तेस्रो स्थान निर्धारण गरिनेछ ।

प्रतियोगिताको प्रचार–प्रसार देशव्यापी रूपमा भइरहेको र दर्शकको उत्साह सकारात्मक रहेको सह–संयोजक डोलराज पोखरेलले जानकारी दिनुभयो। प्रतियोगिताबाट प्राप्त हुने बचत रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकको भनाइ छ। करिब १ करोड ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगितालाई यस वर्ष अझ भव्य बनाउने तयारी गरिएको आयोजकको दाबी छ ।

प्रतियोगितामा विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले रु २ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button