तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणका काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । 

कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरुको आजदेखि सुर्खेतमा शुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण तथा सेवा प्रवाहका काममा ढिलासुस्ती गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलताले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । 

निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँको भनाइ थियो । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालय अन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button