प्रतिनिधिसभा निर्वाचनः धनुषाका चार क्षेत्रमा १५८ जना उम्मेदवार
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि धनुषाको चार निर्वाचन क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र गरेर १५८ जनाले हिजो अबेर साँझसम्म उम्मेदवारी दर्ता गराउनुभएको छ।

मधेस प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामका अनुसार साँझ साढे ७ बजेसम्ममा १५८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
धनुषा निर्वाचन क्षेत्र न-१ मा ४२ जना, क्षेत्र न-२ मा ३४ जना, क्षेत्र न-३ मा ४५ जना र क्षेत्र न-४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता गर्नेमा दल भन्दा स्वतन्त्रको सङ्ख्या निक्कै ठुलो रहेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट मधेस प्रदेशसभाका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पूर्वमन्त्री मातृकाप्रसाद यादव, नेपाली काँग्रेसका रामपल्टन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह, जनता समाजवादी पार्टीका निवर्तमान प्रतिनिधि सभाका सदस्य दिपक कार्की र राप्रपाका मनोज मल्ल ठकुरी रहनुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र न-१ मा कूल मतदाता १ लाख २६ हजार ४० जना मतदाता रहेका छन्। गत निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टीका दिपक कार्की विजयी हुनु भएका थिए भने तत्काली नेकपा माओवादी र हालका नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका यादव निकटतम रहनुभएका थिए ।
यस्तै, क्षेत्र नम्बर-२ मा एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया, नेकपाबाट पूर्वमन्त्री रामचन्द्र झा, काँग्रेसबाट दिनेश प्रसाद यादव (प्रसैला), राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामविनोद यादव, जसपाका पशुपति यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट महेश्वर मण्डल र जनमतका तर्फबाट सुरेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । धनुषा निर्वाचन क्षेत्र न-२ मा १ लाख ३४ हजार ८ सय २६ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर-३ मा नेकपा एमालेबाट पूर्वमन्त्री जुलीकुमारी महतो, कांग्रेसबाट पूर्वमन्त्री विमलेन्द्र निधि, रास्वपाबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डल, राप्रपाका तर्फबाट हुसैन कवारी र उज्यालो नेपालका प्रमोद कुमार साह लगायतले उम्मेदवारी दर्ता गराउनु भएको छ । धनुषा-३ मा १ लाख २५ हजार ९ सय २७ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर-४ मा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ, कांग्रेसबाट पूर्वमन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीका सञ्जय कुमार महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राज किशोर महतो, जसपा नेपालका कृष्णचन्द्र साह, जनमत पार्टीका ईन्द्रजीत कुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबाबु साहले उम्मेदवारी दर्ता गराउनु भएको छ । धनुषा ४ मा १ लाख २७ हजार ७ सय २७ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्